हेटौंडामा शनिबार माक्र्सवादी दर्शन र साहित्य लेखनबारे अन्तरक्रिया कार्यक्रम भएको छ । प्रगतिशील लेखक संघ, मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी दर्शन र साहित्य लेखनमा माक्र्सवादी दर्शनको महत्वबारे धारणा राख्नुभएको थियो । जसले सिद्धान्तको मूल्यांकन गर्छ, त्यो नै सफल हुन्छ भन्दै केन्द्रीय सदस्य न्यौपानेले आगामी दिनमा भावी योजना निर्धारण गर्दै सिद्धान्तलाई जोड दिई साहित्य सृजनामा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् संघका सल्लाहकार कौशल पाण्डेले माक्र्सवादले देखाएको बाटोमा हिँड्न सकेमा श्रमजीवि वर्गको हित हुने बताउनुभएको छ ।
त्यस्तै साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले आस्था राखेर लेखिने लेखलाई बदल्न जरुरी रहेको बताउँदै भावी पिढीलाई प्रेरणा मिल्ने खालको लेख लेख्न जरुरी रहेको बताउनुभउको छ । साधारण मानिसले बुझ्ने भाषामा आफ्ना लेखनमार्फत माक्र्सवाद घर घरमा पुर्याउन प्रगतिशील लेखकहरु लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । प्रगतिशील लेखक संघको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष शान्तिप्रिय बन्दनाले संघले गर्ने काम, कर्तव्य पूरा गर्न पछि पर्न नहुने भन्दै अहिलेसम्म भएका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्ने बताउनुभएको छ । कार्यक्रममा संघकी उपाध्यक्ष नानीमैया विष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।