हेटाैंडा– पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी मागेको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शार्मा ओलीलाई लक्षित गरी प्रयोग गर्नुभएको भाषा र बिचारप्रति रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले दुःख व्यक्त गर्नुभएकाे छ । कार्यकारी निर्देशक कार्कीले आज एक विज्ञप्ति प्रकाशित गरी डा.नवराज लम्सालले सञ्चालन गर्नुभएको अन्तरसंवाद कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले सम्पादन गर्न नसकिएको भन्दै क्षमा प्रकट गर्नुभएको छ । साथै कार्यकारी निर्देशक कार्कीले विज्ञप्ति मार्फत आगामी दिनमा रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रममा अतिथि चयन गर्दा सचेत रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।