मकवानपुर– बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेर गौरवको योजनाका रुपमा अगाडी बढाएको भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणका लागि संघीय सरकारले निर्माण कार्यदल गठन गरेको छ । गत भाद्र ९ गते अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको उपस्थितिमा भएको छलफलले संघीय र प्रदेश सरकारको सहलागानीमा निर्माण हुने उक्त सुरुङ मार्गको प्राविधिक, आर्थिक र कानुनी पक्षको वारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरे अनुसार संघीय सरकारले निर्माण कार्यदल गठन गरेको हो ।
गत भाद्र १५ गते भएको मन्त्रिस्तरको निर्णय अनुसार एक महिना भित्र प्रतिवेदन बुझाउने गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव संयोजक रहनेगरि अर्थ मन्त्रालयका सहसचिव, प्रधानमन्त्री तथा मन्त्रि परिषदका सहसचिव, बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव, नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयले तोकेको प्रतिनिधि सदस्य रहेको कार्यदल गठन गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निकै महत्वका साथ उठाउदै आउनुभएको उक्त सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा नै पहिलो प्राथमिकतामा राखेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र देशकै राजधानी काठमाडौंलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको बताउदै आउनुभएका मुख्यमन्त्री पौडेलले उक्त सुरुङमार्ग नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।