अहिले देशभरको मौसम बद्ली भएको छ । मौसम बद्ली भएपछि अहिले वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, चितवन, पोखरामा पानी परेको हो ।
त्यस्तै प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा मध्यम खालको पानी परेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो । प्रदेश १ र २ का केही ठाउँमा भने गएराति ठूलो पानी परेको छ । अहिले भने मध्यम वर्षा भैरहेको छ ।
झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । बङ्गालको खाडीबाट बनेको मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले पानी परेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभरको मौसम सामान्यतया बद्ली रही केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिमबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।