मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रममा शुक्रबार आज २२५ परिवारलाई खाद्यान्न उपलब्ध गराईएको छ । भदौ १५ गतेदेखि सञ्चालित अभियान अन्तरगत आज १२ औं दिन २२५ परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो ।
फाउण्डेसनले कोरोना महामारीले गर्दा जारी लकडाउन र निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन नसकेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर “हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ” भन्ने अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत अहिलेसम्म एक हजार ९८ जनालाई खाद्यान्न उपलब्ध गराईएको फाउण्डेसनका सचिव आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै अभियानमा निरन्तर सहयोगको क्रमसमेत जारी रहेको उहाँले बताउनुभयो । अभियानमा आजसहित पटक पटक गरेर हेटौंडा–११ का समाजसेवी सुदर्शन अधिकारीले ५० हजार बराबरबो खाद्यान्न र आजै मानव अधिकार तथा मानव बेचविखन बिरुद्धको संजाल मकवानपुरले १४ हजार ५ सय बराबरको खाद्यान्न सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो । अजसम्म हेटौंडा–४ स्थित कपुर कम्पल्ेसबाट सञ्चालन गरिएको अभियान शनिवारदेखि भने जिल्ला समन्वय समितिले संचालन गरेको होल्डिङ सेन्टरबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । अभियानबाट प्रत्येक परिवारलाई एक पटकमा दुई छकलाई पुग्ने खाद्यान्न ( दाल, चामल, नुन र तेल) उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो ।