मकवानपुर– नेपालमा हाल सम्म ५८ प्रतिशत् काेराना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हालसम्म कुल संक्रमित मध्ये ५८ प्रतिशत संक्रमण मुक्त भएर घर फर्किएको जानकारी दिनुभयो ।
हाल सम्म ७ लाख ४५ हजार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ हजार ४ सय ३६ जनामा संक्रमण पुष्टि भएका मध्ये २५ हजार ५ सय ६१ जना अर्थात ५८ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५४ जना संक्रमण मुक्त भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।