मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरले हेटौंडामा सञ्चालन गरेको खाद्य आदान प्रदान कार्यक्रम प्रभावकारी बन्दै गएकाे छ । फाउण्डेसनले गत सोमबारबाट “हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ” भन्ने उदेश्यका साथ सञ्चालन गरेको अभियानको समिक्षाका लागि आज बसेको बैठकले कार्यक्रम प्रभाबकारी बन्दै गएकाेले थप जिम्मेवार र व्यवस्थित भएर काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
फाउण्डेसनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम प्रभावकारी बन्दै गएको र कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई राहत मिलेको निष्कर्ष निकालेको खुलालले जानकारी दिनुभयो । उहाँले यो विषयमा अझै जिम्म्ेवार भएर व्यवस्थित रुपमा काम गर्नुपर्ने बताउनुभयो । बैठकले अभियानलाई थप व्यवस्थित बनाउने संदर्भमा फाउण्डेसनका सदस्यहरुलाई थप जिम्मेवारी समेत दिएको छ । बैठकले स्टोर व्यवस्थापनको जिम्मा भवानी शर्मालाई, स्वयम सेवक परिचालनको जिम्मा शिवहरी दाहाललाई र प्रचार प्रसारको जिम्मा विवश अधिकारीलाई दिईएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले अभियनलाई थप व्यवस्थित बनाउन उपसमितिका संयोजकले नियमित बैठक राखेर छलफल गर्ने, मुख्य रुपमा चामल, दाल, नुन, तेल मात्र सहयोग प्रदान गर्ने हुनाले नगद सहयोग नगर्न र खाद्यान्न नै उपलब्ध गारउनुहुन सबैलाई आग्रह गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले शुक्रबार भोली देखि दैनिक बढीमा एक सयजनालाई खाद्यान्न सहयोग उपलब्ध गराउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले फाउण्डेसनले संचालन गरेको मानविय कार्यमा सहयोग गर्न संघ संस्था एवम् व्यक्तिलाई आव्हान गर्ने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो ।“हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ” भन्ने उदेश्यका साथ सञ्चालित अभियानमा सहयोग गर्न आग्रह गर्दै अध्यक्ष खुलालले फाउण्डेसनले अहिले हेटौंडा–४ स्थित अटोल्याण्ड चोकबाट मात्र कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । गत सोमबार सुरु अभियान मार्फत पहिलो दिन २५ जना, मंगलबार ५३ जना, बुधबार ७१ जना र आज ५० जनालाई खाद्यान्न उपलब्ध गराईएको समेत उहाँले जानकारी दिनुभयाे ।