फाइल तस्विर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि नयाँ प्रस्ताव राख्नु भएको छ । दुई अध्यक्षसमक्ष गौतमले ६ बुँदे प्रस्ताव राख्दै प्रधानमन्त्री र पार्टी अध्यक्षमा ओलीकै निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

मंगलबार उपाध्यक्ष गौतमले ल्याउनुभएको प्रस्तावमा महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहने उल्लेख छ । गौतमको पहिलो प्रस्ताव केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ भने दोस्रो प्रस्ताव प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने रहेको छ।

उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ । गौतमले पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्न प्रस्ताव राख्नुभएको छ ।