साउन १६, काठमाण्डाै – सागरनाथ वन विकास परियोजनालाई लिएर प्रदेश २ सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । संविधान अनुसार प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

संविधान अनुसार राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भएपनि सागरनाथ वन विकास परियोजनालाई केन्द्र सरकारले आफ्नै मातहत राख्न खोजेकाले रिट दायर गरिएको प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाण्डौलाई विपक्षी बनाइएको छ । अधिकार क्षेत्रबारे विवाद हुँदै आएको भएपनि प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध मुद्दा दायर गरेको भने यो पहिलो पटक हो ।