गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश संरचना आवश्यक नरहेको बताएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
अनावश्यक खर्चिलो संरचनाले कुनै प्रतिफल दिन नसकेको उनको भनाई छ । गुरुङले पुस २५ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए । गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक सूचीबाट संसद् बनेका हुन् ।
प्रदेश संरचना खारेज गरेर स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । मन्त्रीहरूले झण्डामात्र हल्लाएर अर्ब खर्च गरिरहेको उनले सुनाए । पूर्वदेखि पश्चिम हेलिकोप्टर वारपार गर्न एक घण्टामात्र लाग्ने र उत्तर दक्षिण आधा घण्टामा पुग्न सकिने भएकाले प्रदेश संरचना आवश्यक नभएको उनको भनाइ छ ।