राष्ट्रपति विद्यादेवी भण्डारीले मनसुनजन्य विपद्को सामना गर्न गरिएका पूर्व तयारी, हालै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट भएका क्षति तथा प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनाबारे भएका कामहरूबारे चासो व्यक्त गर्नुभएको छ ।

आज राष्ट्रपति भवनमा आयोजित सरोकारवालाहरुसंगको छलफलमा राष्ट्रपति भण्डारीले बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुुँदै प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले दिगो विकासलाई ख्याल नगरी प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको उल्लेख गर्नुहुँदै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावका आधारमा सडक, आवास तथा वस्ती निर्माण गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनुभयो । छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहमन्त्रालय अन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।