file photo

हेटाैंडा – नेपालमा विपद्का कारण एक वर्षमा ५०५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा बाढी÷पहिरो, चट्याङ्ग, हावाहुरी, सर्पदंश, जनावरको आक्रमणलगायतका ३ हजार ९०४ वटा घटनामा परि ५०५ जनाले ज्यान गुमाएका छन् । भने, ७६ जना बेपत्ता छन् ।
यी घटनामा एक हजार ७ सय ७७ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । विपद्का घटनाबाट ६ हजार १३८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । यस्तै उक्त घटनाहरुमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङकमा छ । एक वर्षमा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । नेपालमा सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको छ । गएको वर्ष आगलागीबाट मात्रै झन्डै २ अर्ब २७ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । एक वर्षमा आगलागीमा परेर ९४ जनाले ज्यान गुमाएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले विपद् व्यवस्थापनमा तीन वटै तहलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार विपद् जोखिम व्यवस्थापनमा साझा दायित्व लिएर काम गर्नुपर्ने हुन्छ । विपद् व्यवस्थापनको प्रमुख दायित्व पालिकामा रहेको र त्यसैअनुसार कार्ययोजना बनाएर समुदायमा लगानी र प्रभावकारी काम गर्न सके क्षति घटाउन सकिन्छ ।