मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडामा संचालनको प्रकृयामा रहेको पुननर्वा अस्पतालको निरिक्षण गर्नुभएको छ । श्रृतम्भरा वैकल्पीक स्वास्थ्य प्रतिष्ठानद्धारा हेटौंडा–४ स्थित सञ्चालनको तयारीमा रहेको अस्पतालको प्रमुख खुलालले शुक्रबार निरिक्षण गर्नुभएको हो ।

प्रतिष्ठानद्धारा यहि असाढ २८ गतेबाट सञ्चालनको तयारी रहेको अस्पतालको सेवा सुविधालगायत समग्र व्यवस्थापनका विष्यामा उहाँले जानकारी समेत लिनुभएको छ । प्रतिष्ठानले गर्ने प्राकृतिक उपचार, गुरुकुल शिक्षा, औषधि बृक्षा रोपण तथा स्वच्छ खाद्यान्नलगायतका विषयमा काम गर्ने क्रममा प्राकृतिक उपचार केन्द्र (पुननर्वा अस्पताल) संचालन गर्न थालेको हो । अस्पतालमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताईएको छ ।

श्रृतम्भरा वैकल्पीक स्वास्थ्य प्रतिष्ठानले गर्ने काम र अस्पतालका बारेमा प्रतिष्ठानका अध्यक्ष ललित बस्नेतले जानकारी दिनुभएको थियो । उहाँले प्रतिष्ठानले चार विधामा रहेर काम गर्ने र यसले बागमती प्रदेशलाई नै केन्द्र मानेर काम गर्ने बताउनुभयो । उहाँले आयुर्वेद प्रतिको मनस्थितीमा परिर्वतन ल्याउन तथा आयुर्वेद तथा प्राकृतिक चिकित्साका उत्थानमा संस्थाले काम गर्ने बताउनुभयो । पहिलो चरणमा अस्पताल संचालन हुन लागेको बताउँदै उहाँले अन्य विषयमा समेत काम अगाडी बढेको बताउनुभयो ।
अस्पतालले अहिले सुरुवाती चरणमा मसाज, ईस्टिम वाथ, अकुपञ्चर, अकुप्रेसर, फिनीयो थेरापी, अल्ट्रा साउण्ड, एनिमालगायत उपचार विधि सुरु गर्न लागेको अस्पताल व्यवस्थापक समितिका अध्यक्ष मनोज सुवेदीले जानकारी दिनुभएको छ ।