मकवानपुरमा बिप्लप नेतृत्वको नेकपा माओबादीको बन्दको सामान्य प्रभाव परेको छ । बन्दका कारण मकवानपुरको हेटौंडाबाट चल्ने लामो लामो दुरीका सवारी–साधन नचले पनि छोटो दुरीका यातायात सुचारु नै रहेका छन । बजार, विद्यालय तथा औद्योगिक कल कारखाना भने पुर्ण रुपमा ठप्प रहेका छन ।

वन्दको क्रममा मकवानपुरमा गएराती र आज बिहान दुईस्थानमा सवारी साधनमा आगजनी गरेको छ । मंगलबार साँझ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेल हुमाने मन्ज्याङमा यात्रुलाई गाडीबाट ओरालेर निजी कारमा आगजनी गरिएको प्रहरीले जनाएको छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । आगजनीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यस्तै मनहरी गाउँपालिका–९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । गुडीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको उहाँले जानकारी दिनुभयो । पेट्रोल वम प्रहारबाट ट्रकको अगाडीको भाग जलेको छ ।

त्यस्तै सदरमुकाम हेटौंडाका बिभिन्न स्थानमा संकास्पद वस्तु फेला परेका छन । गएराती राखिएका संकास्पद वस्तु बुधबार बिहान स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए । हेटौंडाका ४ स्थानमा शंकास्पद बस्तु भेटीएको हो । हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौर नजीकै बम लेखिएका शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद् वस्तहरुु नेपाली सेनाको बम डिष्पोजल टोलीले डिस्पोज गरेको छ । सेनाले शंकास्पद् वस्तु डिस्पोज गर्दा ठुलो आवाज आएको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाकोले आज बुधबार मकवानपुर सहित केही जिल्ला बन्दको आह्वान गरेको छ ।