कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप २ हजार ७ सय ९१ जना निको भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९१ प्रतिशत रहेको छ ।
यसैगरी आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १० हजार ८ सय ४३ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार ६९ जना पुरुष तथा ७ सय २१ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
आज देशभर गरी १७ हजार ८ सय ५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसन तथा बाँकी ११ हजार ३ सय ४१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । गम्भीर लक्षण देखिएका ३ सय ९३ जना संक्रमितको आईसियू तथा ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।