आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मकवानपुरको बकैया गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक भएको छ । जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाले आ–आफ्ना बजेट सार्वजनिक गरिसकेका छन् । विशेषगरी पालिकाहरूले बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको पाइन्छ । बकैया गाउँपालिकाले बजेटमा केकस्ता विषयलाई प्राथमिकता दिएका छन् भन्ने विषयमा बिवश अधिकारीले गाउँपालिका उपाध्यक्ष सरला बोलखेसँग गर्नुभएको कुराकानीः

बकैया गाउँपालिकाले आगामी वर्षका लागि कस्तो बजेट ल्याएको छ ?

बोलखेः हामीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ९६ लाख ७७ हजारको बजेट विनियोजन गरेका छौं । त्यसमा गत वर्षको जस्तै यसपालि पनि पूर्वाधार विकासलाई बढी जोड दिएको छौँ । त्यस्तै सामाजिक विकास र आर्थिक विकासमा पनि बजेटलाई गत वर्षभन्दा बढाएका छौँ ।

गत वर्षको पूर्वधार विकासको समीक्षा कसरी गर्नुभयो रु सामाजिक, आर्थिक पक्षमा पनि गत वर्षको समीक्षा र यो वर्षको योजना के छ ?

बोलखेः हामीले गतवर्ष बकैया गाउँपालिकाबाट ठिँगन जाँदा हेटौंडा हुँदै जानु पथ्र्यो । यसलाई हामीले बकैया गाउँपालिकाबाट ठिंगन सिधै जान मिल्ने बनाएका छौँ । दुई ओटा बाटो खोल्न सफल भएको र वडा न १ लाई जोड्न प्रयासहरू हुँदै छन् । यसपालिको बजेटमा बाँकी कामहरूलाई गर्दै सामाजिक र आर्थिक पक्षलाई पनि सुधार गर्ने योजनाका साथ बजेट ल्याएका छौँ । हामीले आर्थिक क्षेत्रलाई हेर्दा बकैयाको ३ वटा जति वडामा गाँजा उत्पादन हुन्थ्यो त्यसलाई निरुत्साहित गरेर त्यहाँ फलफुल रोप्दै छौँ । यसैलाई निरन्तरता दिनका लागि सुशासन र समृद्धिको आधार दूव्र्र्यसनमुक्त गाउँ भन्ने नाराका साथ हामी अगाडि बढेका छौँ । सामाजिक विकासका लागि महिला, बालबालिका र लक्षित वर्गलाई राम्रो गर्ने गरी बालमैत्री गाउँपालिकाको निर्माणमा हामीले जोड दिएका छौँ ।

यस्ता पक्षलाई प्राथामिकतामा राख्दा कस्ता योजनाहरूलाई लिएर अगाडि बढ्नुहुन्छ ?

बोलखेः हामीले विशेषगरी आर्थिक पक्षतर्फ कृषि र पशुपालनलाई बढी प्राथमिकतामा राखेका छौँ । जस्तो पशु बिमाको कुरा, भिरालो जमिनमा बहु वर्षीय खेती जस्तै फलफुललाई प्राथमिकता दिने र कृषिलाई प्रविधिसँग जोडने जस्ता कार्यक्रमलाई अगाडि सारेका छौँ । त्यस्तै सिचाइँलाई पनि प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ । गाउँपालिका कृषिमा आत्मनिर्भर हुनका लागि यस्तै विभिन्न कार्यक्रम गरेर कोसिस गरिरहेको अवस्था छ ।

आगामी वर्षका लागि मुख्य योजना के—के रहेका छन् ?

बोलखेः हामीले आगामी वर्षको लागि मुख्य बाटोलाई नै बढी प्राथमिकता दिएका छौँ । चार ओटा बाटोलाई बजेट छुट्याइएको छ । ति बाटोहरूलाई सबै महिना चल्ने बनाउने योजना छ । तीन ओटा बाटोको काम सुरु भैसकेको छ र बाँकी एकको अझै बाँकी भएको छ । यसलाई पनि छिटै सुरू गर्ने छौँ । साथसाथै खानेपानीलाई र दुईओटा पर्यटन पार्कको लागि पनि गौरवको योजनामा राखेका छौँ ।

तपाईहरूले चुनावमा घोषणापत्रमा उल्लेख गरेका कुराहरू यस नीति तथा कार्यक्रममा कतिको समावेश भएका छन रु यो ५ बर्ष भित्रमा ति सबै योजनाहरू पुरा हुन्छन् ?

बोलखेः हामीले प्रत्येक वर्ष बजेट ल्याउँदा घोषणापत्र पल्टाउने गरेका छौँ । पूर्वाधारहरू, सडक सञ्जालका कुराहरू, पर्यटनका कुराहरू र कृषि—पशुपालनका कुराहरू हामीले यस्तै घोषणापत्रका कुराहरूलाई पछ्याएरै कार्यक्रमहरू ल्याइएको हो । अबको ३ वर्षमा धेरै हदसम्म हामी घोषणापत्रका कुराहरूलाई पूरा गर्ने छौँ । अहिले बाटो लगायत खानेपानी जस्ता पक्षहरू जनताले केही उकासिएको महसुस गरेका छन् । अझै पनि धेरै विकासको आशा छ र जाँगर छ जनतामा हामी त्यस अपेक्षालाई आत्मसाथ गर्ने छौँ ।