काठमाडौं, साउन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमामात्रै भष्टाचारसम्बन्धी २४ हजार उजुरी परेको जानकारी दिएको छ । दैनिक सरदर ६७ ओटा उजुरी पर्ने गरेको र पछिल्लो समय कुल उजुरीमध्ये २५ प्रतिशत स्थानीय तहका भएको पनि अख्तियारको भनाइ छ । त्यसमा पनि इन्जिनियरहरुविरुद्धको उजुरी अत्यधिक रहेको पाइएको छ ।
अर्कोतर्फ अख्तियारमा उजुरी दिने र अख्तियारले पक्राउ गरी कारबाही सुरु गरेपछि उजुरीकर्ताले उजुरी फिर्ता लिने घटना पनि हुने गरेका छन् । गएको फागुन २३ गते भोजपुरका तत्कालीन जिल्ला इन्जिनियर लालु गिरीविरुद्ध सडकको स्तरोन्नतिको काममा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको उजुरी ठेकेदार कम्पनी एम.के./वाइ.पी.जे.भी.ले हालेको थियो । उक्त उजुरीको आधारमा पक्राउ परेका इन्जिनियर गिरीले अनुसन्धानकाक्रममा कसुरसमेत कबुल गरेको अवस्थामा उजुरीकर्ता देवजंग शाहीले विशेष अदालतमा बयान फेरेपछि शाहीमाथिसमेत ‘कारबाही’ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनकाअनुसार शाहीले अदालतमा ‘प्रतिकूल बकपत्र’ गरेका थिए । अख्तियारले उनलाई पहिला अख्तियारको सहयोगी र साक्षीकारुपमा अदालतमा पेस गरेको थियो । तर, शाहीले बयान फेरेपछि उनीविरुद्ध पनि सोमबार आरोपीकारुपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यसरी उजुरीकर्तामाथि नै कारबाही गरिएको अख्तियारको इतिहासमा पहिलोपटक भएको पनि अख्तियारले जनाएको छ ।