मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा सुरु भएको छ । अहिले नगरसभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रम प्रस्तुत भईरहेको छ । उपमहानगरपालिकाले कृषि र उत्पादनलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको सभाध्यक्षता सुरु भएको सातौं नगरसभामा उपमेयर मिना कुमारी लामाले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउको छ ।

उपमहानगरपालिकाले आगामी वर्षमा २ अर्ब माथिको बजेट ल्याउने तयारी गरेको उपमेयर लामाले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि हेटौंडा उपमहानगरलाई संघीय सरकारले वित्तीय समानीकरण तर्फ ३२ करोड ७५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारले १ करोड २७ लाख अनुदान दिने भएको छ । त्यस्तै संघीय सरकारले हेटौंडा उपमहानगरलाई सशर्त अनुदान ६६ करोड १४ लाख विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरलाई ४ करोड २७ लाख ६८ हजार रुपैयाँ सशर्त अनुदान र समपुरक अनुदानमार्फत २ करोड ८० लाख ४६ हजार उपलब्ध गराउने भएको छ । संघीय सरकारले करिब ७ करोड अनुदान कटौती गरेर हेटौंडा उपमहानगरपालिकालाई बजेट विनियोजन गरेको छ । हेटौंडा उपमहानगरले आफ्नो १९ वटै वडालाई कुल ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको छ ।