मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले पाँच वर्षे सहयात्रामा साथ सहयोग प्रदान गर्ने सम्पूर्णमा धन्वाद व्यक्त गर्नुभएको छ । जिसस मकवानपुरद्धारा सोमबार आयोजित स्थानीय तह समन्वय बैठकमा उहाँले सबैको साथ र सहयोगबाट जिससले काम गर्न सकेको भन्दै यसका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तहलगायत सबै सरोकारवालाको साथ र सहयोग साथै सकारात्मक भुमिकाका कारण स्रोत साधनको अभावमा पनि थुप्रै काम भएको भन्दै केहि अधुरा काम जस्तै सरुवा रोग अस्पतालका लागि रकम विनियोजन गरेर पनि काम अगाडी बढाउन नसकेकोमा दुख व्यक्त गर्नुभयो । यस्तै उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले वितेको ५ वर्षमा जिसस मकवानपुरले अभिभावकको भुमिका निर्वाह गरेको बताउनुभएकाे छ । स्थानीय तहका प्रमुख/उप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत सहभागिहरुले मकवानपुरको समृद्धि र विकासकालागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको बताउनुभएकाे थियाे । बैठकमा थाहा नगरपालिकाका मेयर लबशेर विष्टले जिससले पारदर्शी र सहयोगिको भुमिका निर्वाह गरेको बताउनुभयो । जिससबाट सधैं स्थानीय तहलाई सकारात्मक उर्जा प्रदान भएको भन्दै वितेको ५ वर्षमा स्थानीय तहलाई सबल र सक्षम बनाउनमा जिससको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । यस्तै थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले हरेक क्षेत्रमा जिससबाट पक्षपात रहित साथ र सहयोग प्राप्त भएको बताउनुभयो । “हामी फरक दलबाट निर्वाचित भएपनि कहिल्यै हामीले त्यस्तो महशुस गरेनौं ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जिससको भुमिका सहजकारी र सन्तोषजनक रहेको बताउनुभयो । स्थानीय तहमा कतिपय समस्याहरु आउँदा त्यसको समाधानका लागि जिससले महत्वपूर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई थियो । यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको बताउनुभयो । समन्वय र सहजिकरणका साथै जिससलाई अधिकार थपेर जिल्लाकै अभिभावकको रुपमा विकास गर्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले अनुगमन र समन्वयमा जिसस मकवानपुरले अब्बल काम गरेको भन्दै धन्यवाद दिनुभयो । कैलाश गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले जिससबाट अनुगमन लगायत विकास निर्माणमा सहजिकरण हुनुका साथै स्थानीय तहलाई सचेत बनाएको बताउजनुभयो । हरेक क्षेत्रमा जिससबाट सहयोग प्राप्त भएको उहँँको भनाई थियो । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले प्राप्त अधिकार अनुसार जिसस मकवानपुरले प्रभावकारी काम गरेको बताउनुभयो । जिससबाट सधैं उपर्युक्त दिशा निर्देश हुनुका साथै समन्वय प्राप्त भएको उहाँको भनाई थियो । उहाँले देशका अन्य जिससको तुलनामा जिसस मकवानपुरले अब्बल काम गरेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बरिष्ट पत्रकार प्रताप बिष्टले अहिलेका जनप्रतिनिधिहरु संस्थापक भएको भन्दै संस्थापक भएकोमा गर्व गर्नुपर्ने बताउनुभयो । जिसस मकवानपुर पनि संस्थापक हुँदै जिल्लाका स्थानीय तहलाई दिशा निर्देश गर्नमा अब्बल भुमिका निर्वा गरेको उहाँको भनाइ थियो । उहाँले जिल्लामा एउटा मार्ग कोरीएको र आगामी दिनमा आउने जनप्रतिनिधिले सोहि मार्गमा रहि काम गर्ने वातावरण बनेको समेत बताउनुभयो । कार्यक्रममा गैसस महासंघका केन्द्रिय सचिव बुद्धशरण लामाले जिससले हरेक क्षेत्रमा उत्तम समन्वय गरेको पाईएको बताउनुभयो । यस्तै गैसस मकवानपुरका अध्यक्ष डा कृष्ण धितालले बितेको ५ वर्षमा जिससबाट सौहार्दपूर्ण वातावरण प्राप्त भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटा, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, जिससका शाखा अधिकृत सुनिता कुमारी गजुरेललगायतको सहभागिता थियो ।