गृह मन्त्रालयले बन्दाबन्दी (लकडाउन) लाई व्यवस्थित गर्ने सम्बन्धि सुरक्षा मापदण्ड २०७७ जारी गरेको छ ।मन्त्रालयले आज मापदण्ड जारी गर्दै असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएकोले सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको जनाएको छ । 

जारी मापदण्ड अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायतका कार्यमा १५ जनाभन्दा बढी आगन्तुक भेला हुन नदिने, उत्पादनमूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार तथा विकास निर्माणजस्ता क्रियाकलाप सञ्चालन गर्दा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने नियम तोकिएको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न गरिने मापदण्डमा उल्लेख छ । कोरोना भाइरस संक्रमणको जोखिम कायम नै रहेकोले सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न र नगराउन, हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्नुका साथै गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन लगायतका कुरामा सतर्क रहन आह्वान गरिएको छ ।