फाइल फाेटाे

सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको थियो । लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भए पनि मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा उच्चस्तरीय समितिलाई दिइने भएको हो । बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावकाे विभिन्न पक्षमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभएको छ । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्ने धारणा राखेका थिए । सरकारले पछिल्लाे पटक जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।