मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मंगलबार बालमैत्री घोषणाको तयारमा रहेको जिल्लाको बकैया गाउँपालिकाको अनुगमन सम्पन्न गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वको टोलीले मंगलबार वडा नम्बर १ मा बालमैत्रीका सुचकहरु कार्यान्वयन भए नभएको विषयमा अनुगमन गरेको हो ।

यस अघि जिसस सदस्य देवराज रिमालको नेतृत्वमा पालिकाका अन्य ११ वटै वडाका विद्यालय, स्वास्थय संस्था, वडा कार्यालयलगायतमा बालमैत्री शासन अबलम्बन भए नभएको विषयमा अनुगमन गरेर आज अन्तिम वडामा अनुगमन गरिएको हो । बालमैत्री स्थानीय शासन अवलम्वन युक्त पालिकाको रुपमा घोषणाको अन्तिम तयारी गरेको गाउँपालिकाले बालमैत्रीका विभिन्न ३९ सुचकमा काम सम्पन्न गरेर घोषणा गर्ने तयारी गरेको छ ।

अनुगमनका क्रममा प्रमुख खुलालले गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि निकै मेहनत गरेको र घोषणाको योग्य समेत भएको बताउनुभयो । उहाँले बालमैत्रीका सुचकहरु पुरा गर्न गाउँपालिकाले गरेको मेहनेतको प्रशंसा गर्नुहुँदै सुचकहरुका क्षेत्रमा दीर्घकालिन सोच समेत बनाएर अगाडी बढ्न निर्देशन दिनुभयो । उहाँले वडा नम्बर १ को सरस्वती आधारभुत विद्यालय, स्वास्थय संस्था र वडा कार्यालमा अनुगमन गर्नुका साथै आवश्यक सुझाव समेत दिनुभयो । सो क्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले गाउँपालिकालाई बालमैत्री घोषणा गर्दै त्यसको निरन्तरताका लागि दीर्घकालिन योजनाका साथ काम गर्न सुझाव दिनुभयो ।

बालमैत्री घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणका गतिविधिहरु सञ्चालन गरी ३९ वटा सूचक पूरा गरेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । खासगरी गाउँपालिकामा विकराल समस्याको रुपमा रहँदै आएको बाल विवाह र प्रसुति सेवाका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो । उहाँले बाल श्रम उन्मूलन, बाल विवाह, बालमैत्री शासन, बाल अधिकारलगायत क्षेत्रमा काम भएको बताउँदै बालमैत्री शासन घोषणाका लागि गाउँपालिकाले बाल अधिकार समिति, वाल क्लव, शिक्षक, विद्यार्थी, टोल विकास संस्थायीलगायतसँग समन्वय गरी काम गरेको जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाले घरधुरी तथा सार्बजनिक निकायहरुको अनुगमन, भौतिक संरचनामा बालमैत्री व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, बाल बचाउ र बाल विकासको सारतत्वलाई अवलम्बन गर्न प्रेरित गरिएको जानकारी दिनुभयो । अनुगमनमा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पुडासैनी, बालमैत्री फोकल पर्सन फणिक रमण प्याकुरेललगायत जिससका कर्मचारी एवम् गाउँपालिका कर्मचारीहरुको सहभागिता थियो ।