मकवानपुर– तथ्याङ्क कार्यालय हेटौंडाले मकवानपुर र धादिङ जिल्लामा रोकिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ पुन सुरु गर्ने भएको छ । गत फागुन १२ गतेबाट राष्ट्रव्यापी रुपमा संचालन भएर कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण प्रभावित बनेको सर्वेक्षण कार्यक्रम पुन आइतबारबाट सुरु गर्न लागिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागको स्वीकृत कार्यक्रम अन्तर्गत विभागको हेटौंडा स्थित तथ्याङ्क कार्यालय, मकवानपुरले आफ्नो कार्यक्षेत्र मकवानपुर र धादिङ जिल्लामा यही मंसिर २१ गतेबाट सर्वेक्षणको स्थलगत तथ्याङ्क संकलन कार्य शुरु गर्न लागेको कार्यालय प्रमुख एवम् तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिनुभयो । “लामो समयदेखि स्थगित रहेको सर्वेक्षण विभागिय निर्णय र आदेशानुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गर्न लागेका हौं ।” कार्यालय प्रमुख दासले भन्नुभयो । उहाँका अनुसार अब गरिने सर्वेक्षणमा कोभिड–१९ को प्रभावसम्बन्धी प्रश्नावली र मुख्य प्रश्नावली गरी २ बटा फारामहरु प्रयोग गरिने छ ।
सर्वेक्षणमा मकवानपुरका ३४० र धादिङका २१७ वटा प्रतिष्ठानहरु रहेकोमा बन्दाबन्दीको अघिसम्म दुबै जिल्लामा गरी जम्मा १४० वटा प्रतिष्ठानहरुको तथ्याङ्क संकलन भईसकेको तथा अब बाँकी प्रतिष्ठानहरुमा तथ्याङ्क संकलन गरिने उहाँले बताउनुभयो । सर्वेक्षणमा कार्यालयका कर्मचारीका साथै मकवानपुर र धादिङ १÷१ जना गणक परिचालित हुने कार्यालयका कर्मचारी गोपाल ढोडारीले बताउनुभयो ।
१०÷१० वर्षको अन्तरालमा संचालन हुने औद्योगिक सर्वेक्षण यस अघि विस २०६६ मा ५ औं पटक सम्पन्न भइसकेको छ । राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान, संभावना, चुनैती र समस्या, रोजगारी सिर्जना जस्ता विविध पक्षलाई मध्यनजर गरी सर्वेक्षण गर्न लागिएको हो । यस पटक विभागद्वारा राष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरण अनुसार सर्वेक्षण गरेर आगामी फागुन मसान्त सम्ममा सम्पन्न गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।