काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई बहुमतले अनुमोदन गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेट्दै १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । अर्थमन्त्री शर्माको प्रस्तावलाई संसद्ले एमसीसीसँगै अनुमोदन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतका आधारमा व्याख्यात्मक घोषणा प्रस्ताव पारित भएको घोषणा गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।