मकवानपुर, बैशाख २२ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रशासनिक खर्चको भार कटौती गर्दै सुशासन कायम गर्ने उदेश्यका साथ मन्त्रालयको संख्या घटाउने भएको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार यो निर्णय आगामी साउन १ गतेदेखि पूर्ण रूपमा लागू हुनेछ । चालु आर्थिक वर्षको अन्तिमसम्म हालकै मन्त्रिपरिषद् कायम रहने भए पनि आगामी आर्थिक वर्षको बजेट र प्रशासनिक कोडिङ नयाँ ८ मन्त्रालयकै आधारमा तय गरिने उहाँले बताउनुभयो ।
मन्त्री प्रभात तामाङका अनुसार मिल्दाजुल्दा कार्यक्षेत्र भएका ६ वटा मन्त्रालयलाई अन्यमा गाभिएपछि अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी; आर्थिक मामिला तथा योजना; खानेपानी, ऊर्जा तथा सिँचाइ; भौतिक पूर्वाधार विकास; कृषि, पशुपन्छी, वन तथा वातावरण; स्वास्थ्य तथा सामाजिक विकास; र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मात्र कायम रहनेछ ।
मन्त्रालय संख्या घटेसँगै मातहतका १९८ कार्यालयहरू घटेर १४८ मा झर्नेछन् । यसरी ५० वटा कार्यालय खारेज वा गाभिँदा प्रशासनिक सञ्चालनमा भई वार्षिक करिब ५ अर्ब रुपैयाँ चालू खर्च जोगिने उहाँले बताउनुभयो । “प्रशासनिक खर्चमा हुने यो ठूलो बचतलाई हामी सिधै पुँजीगत खर्च अर्थात् विकास निर्माणका आयोजनाहरूमा परिचालन गर्नेछौँ,“ मन्त्री तामाङले स्पष्ट पार्नुभयो । यस्तै “जनतालाई छिटो, छरितो र झन्झटरहित सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो,“ प्रवक्ताले तामाङ्ले भन्नुभयो, “मितव्ययिता अपनाउँदै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी नतिजामुखी काम गर्न यो परिवर्तन आवश्यक थियो ।“










