मकवानपुर, बैशाख १२ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले यस वर्षको ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान’ फुटबल खेलाडी तथा रेफ्री कल्पना राउत (शर्मा) लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष स्व. श्रीचन्द्र शर्माको स्मृतिमा हरेक वर्ष प्रदान गरिँदै आएको नगद १५ हजार ५५५ रुपैया राशीसहितको उक्त सम्मान यस वर्ष राउतलाई दिने निर्णय गरिएको हो ।
शनिबार फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी बैशाख २० गते विशेष कार्यक्रम आयोजना गरी सम्मान प्रदान गर्ने निर्णय गरेको हो । खेलकुदको माध्यमबाट समुदायमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई सम्मानकालागि छनोट गरिएको फाउन्डेसनले जनाएको छ ।
सम्मान प्रदानकालागि फाउन्डेसनका उपाध्यक्ष धर्म बस्नेतको संयोजकत्वमा सचिव कुमार केसी र सहसचिव चन्द्रावती पनेरु सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा राउतलाई सम्मानित गर्ने निर्णय गरिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।
राउत नेपाली महिला फुटबल क्षेत्रमा सक्रिय खेलाडी तथा रेफ्रीका रूपमा परिचित हुनुहुन्छ महिला फुटबलमा मकवानपुर जिल्लाबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राउत नेपाली महिला फुटबल जगतमा पहिलो महिला फिफा रेफ्रि हुनुहुन्छ, भने दक्षिण एसियाको समेत पहिलो महिला फिफा रेफ्रिका रुपमा परिचित हुनुहुन्छ ।
त्यस्तै बैठकले फाउन्डेसनले यसअघि आयोजना गरेको कार्यक्रमहरुको समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरूबारे समेत छलफल गरेको अध्यक्ष खुलालले बताउनुभयो । फाउन्डेसनले यसअघि पुस्तक प्रकाशन, सकारात्मक सोचसम्बन्धी अनुशिक्षण र यो वर्षको क्यालेन्डर प्रकाशन गरेको थियो । बैठकमा उक्त कार्यक्रमहरु सफल भएको निष्कर्ष निकालिएको उहाँले बताउनुभयो । यस्तै बैठकले आगामी जेठ २ र ३ गते दुई दिवशीय कार्यक्रम गरेर मदन आश्रृत स्मृति दिवश मनाउने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।











