हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले वडालाई २०८४ सालसम्म पूर्णरूपमा कच्चि, खाल्टाखुल्टी र डुवानमुक्त बनाइने बताउनुभएको छ । आईतबार हेटौंडा–४, स्थित लक्ष्मी टोल विकास संस्थाको ८औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले यस्तो बताउनुभएको हो ।
अध्यक्ष सिग्देलले ४ नम्बर वडा हेटौँडाको मुख्य बजार क्षेत्र र ‘मुटुको वडा’ भएकाले व्यवस्थित सहर र सुरक्षित बस्ती निर्माण वडाको प्रमुख लक्ष्य भएको स्पष्ट पार्नुभयो । सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै संघीय, प्रदेश र उपमहानगरसँग समन्वय गर्दै वडाभित्रका सबै सडक स्तरीकरणको काम तीव्रगतिमा भइरहेको उहाँको भनाइ थियो । यी कामहरूले समग्र नगरबासीलाई स्वच्छ, सुरक्षित र मात्रात्मक रुपमै अनुभूत हुने विकास देखिएको अध्यक्ष सिग्देलले दाबी गर्नुभयो । सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा–साहित्य, युवा, महिला, विद्यार्थी तथा वृद्धवृद्धाका क्षेत्रमा पनि वडाले सक्रिय भूमिका खेलिरहेको उहाँले जानकारी दिनुभयो ।
साधारणसभा लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष शान्ति बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल तथा टोल विकास संस्था वडा समन्वय समितिका सदस्य इन्द्रबहादुर थापा मगरको विशेष आतिथ्यता थियो । साधारणसभाले पुनः शान्ति बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिनुभयो ।