मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ६७.२९ प्रतिशत वित्तिय प्रगति हासिल गरेकाे जनाएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजीक गर्नुभएकाे हाे । साे अवसरमा मन्त्री श्रेष्ठले चालु आवकाे प्रगति तथा आगामी आर्थिक वर्षकाे कार्यक्रमहरूबारे जानकारी दिनुभयाे ।
मन्त्रालयका अनुसार २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँको कुल बजेटमध्ये ३६ ओटा प्रमुख कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरिएका छन् । मन्त्रालयले नीति निर्माण, पूर्वाधार विकास, उत्पादन वृद्धि, अनुदान तथा प्राविधिक सेवालगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गरिएको छ ।
नीति तथा योजनाका क्षेत्रमा ‘प्रदेश कृषि विकास विधेयक २०८०’ प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ। २४ वटा कार्यविधि स्वीकृत तथा संशोधन गरिएर कार्यान्वयन प्रक्रियालाई सहज बनाइएको छ भने ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई ७० वटा वडामा विस्तार गरिएको छ ।
सेवा विस्तारतर्फ कृषि तथा पशु सेवा केन्द्र जिल्लास्तरमै स्थापनासँगै कृषकलाई जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएको मन्त्रालयको दाबी छ। पशु रोग नियन्त्रण अन्तर्गत PPR खोप १५ लाखभन्दा बढी भेडा बाख्रामा र लम्पी स्किन रोगविरुद्ध ७१ हजारभन्दा बढी गाईभैंसीमा निःशुल्क खोप कार्यक्रम सम्पन्न गरिएको छ।
त्यस्तै, रामपुरमा आधुनिक बायोसेफ्टी लेभल-टु प्लस प्रयोगशाला स्थापना गरिएको छ भने हेटौँडामा दूध पाउडर प्लान्ट निर्माणको काम सकिएको र सञ्चालनको तयारी भइरहेको जानकारी दिइयो। पशु स्वास्थ्य सेवा विस्तारअन्तर्गत २२ वटै वडामा पशु क्लिनिक भवन निर्माण र हस्तान्तरण गरिएको छ।
बीउ उत्पादनमा आत्मनिर्भरता बढाउन चितवनमा बीउ भण्डारण गृह निर्माण र सिन्धुलीमा मकै बीउ उत्पादन गरिएको छ। कृषि बजार पूर्वाधारतर्फ हेटौँडामा प्रादेशिक कृषि थोक बजार हस्तान्तरणको तयारी भइरहेको छ भने ९ स्थानमा सूचना प्रविधिमा आधारित कृषि बजार केन्द्र स्थापना गरिएको छ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बजेटसहितका १७ वटा प्रमुख कार्यक्रम सार्वजनिक गरेको छ। जसमध्ये ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई २५ करोड ५० लाख बजेटसहित थप सशक्त बनाइनेछ। त्यस्तै, दूध उत्पादनमा अनुदानका लागि २० करोड, स्मार्ट कृषि फार्म स्थापना, खाद्यान्न प्रवर्धन, अनुदान, बीउ उत्पादन तथा रोग नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा मन्त्रालयबाट किसान र पशुपालन क्षेत्रका लागि गरिएको सुधार प्रयासलाई आगामी दिनमा अझै परिणाममुखी बनाइने प्रतिबद्धता जनाउनुभयो। उहाँले भने,”हामीले नीति निर्माणदेखि सेवा प्रवाह, पूर्वाधार विकास, अनुदान र रोग नियन्त्रणसम्म सबै क्षेत्रमा सन्तुलित ध्यान दिएका छौँ । अब आउने कार्यक्रमहरू अझ लक्षित र प्रभावकारी हुनेछन्” । बागमती प्रदेश सरकारको यो प्रस्तुति कृषि तथा पशुपालन क्षेत्रलाई व्यवस्थित, आत्मनिर्भर र प्रविधि निर्भर बनाउने दिशातर्फको प्रयासको रूपमा हेरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।