हेटौँडा, माघ १४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका क्रियाशील पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले निर्वाचन आचारसंहिता २०८२ अनुसार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत कसैको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन नपाइने जानकारी गराउनुभयो । निर्वाचन अधिकृत देवेन्द्र आचार्यले आचारसंहिता दण्डात्मकभन्दा सुधारात्मक प्रकृतिको भएको बताउँदै यसको उद्देश्य स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्नु रहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आचारसंहिता कानुन र नैतिकतासँग जोडिएको विषय भएको भन्दै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तामा समेत लागू हुने स्पष्ट पार्नुभयो । निर्वाचन अवधिमा सञ्चारकर्मीलाई स्वतन्त्र रूपमा कार्य गर्न प्रशासनबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।