मकवानपुर,९ श्रावण । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई काँग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रवार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संसदीय दलमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
नेपाली काँग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो ।काँग्रेस संसदीय दलको रेकर्ड अनुसार सो प्रस्ताव आव २०८२/०८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ । अविश्वासको प्रस्तावमा काँग्रेसबाट विजयी ३७ मध्ये २१ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्नुभएको छ । संसदीय दलको नेताबाट हटाउन १९ सांसद चाहिनेमा २१ जनाले हस्ताक्षर गर्नुभएको छ ।
मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा काँग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा २ पटक सरकारमा रहेको काँग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाए पनि प्रभावकारी कार्यसम्पादन गर्न नसकेको आरोप प्रस्ताव मार्फत लगाइएको छ ।
यसअघि आजै बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रवार राजीनामा दिनुभएको थियो । राजीनामा दिने चारै जना काँग्रेसबाट मन्त्री बन्नुभएको थियो । बागमती सरकारमा मुख्यमन्त्रीसहित काँग्रेसबाट सरकारमा ८ जना सामेल हुनुहुन्छ । तीमध्ये संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिनुभएको हो ।















