मकवानपुर, ९ श्रावण । बागमती प्रदेशका राजिनामा दिनुभएका चार जना मन्त्रीहरू बर्खास्त हुनुभएकाे छ । दिउँसाे राजिनामा दिनु भएका चार जना मन्त्रीहरुलाई मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार साँझ पदबाट बर्खास्त गर्नु भएकाे हाे ।
शुक्रबार साँझ मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम बागमती प्रदेश सरकारका तपशिल बमोजिमका मन्त्रीहरुलाइ पदमुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गर्नु भएकाे हाे ।
मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गर्नु भएकाे हाे । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाउनु भएकाे हाे । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिनुभएकाे थियाे ।












