कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले विभिन्न तहका विद्यालयहरुको अनुगमन सुरु गरेको छ। नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी र शिक्षकको उपस्थिति, भर्ना अभियानको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो।
गाउँपालिका अध्यक्ष एवं शिक्षा समिति संयोजक लोकबहादुर मुक्तानले नयाँ शिक्षक आएपछि विद्यार्थीमा उत्साह बढेको बताए। स्रोत शिक्षक ध्रवराज विष्टले कैलाश–३, ४, ९ र १० का १२ विद्यालयको अनुगमन गर्दै अति न्यून विद्यार्थी भएका विद्यालय मर्ज र केन्द्रमा रहेका विद्यालयको कक्षा तह वृद्धि आवश्यक रहेको धारणा राखे।
अनुगमन क्रममा आवासीय विद्यालयको आवश्यकता महसुस गरिएको छ। विषयगत शिक्षकको दरबन्दी अभाव अझै समस्या बनेको र भर्ना तथा नियमित उपस्थितिका लागि विद्यालय प्रशासन र वडालाई सक्रिय हुन आग्रह गरिएको छ।











