मकवानपुर,असार १ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आय र व्ययसहितको बजेट आज सार्वजनीक गर्दैछ । असार १ गते बजेट सार्वजनीक गर्नुपर्ने संवैधानीक प्रावधान अनुसार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नु हुनेछ ।

संघीयतालाई सुदृढ गर्दै विकास र समृद्धिको दिशामा केन्द्रित हुने अपेक्षा सहित प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६८ अर्ब हाराहारिको बजेट ल्याउने भएको छ । आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार बजेटको कुल आकार ६८ अर्ब हाराहारीको हुने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
शनिबार अबेर रातिसम्म सबै मन्त्रालयले बजेट प्रविष्टि प्रणाली (पीएलएमबिस) मा विवरण अपलोड गरेका छन् । मन्त्रालय स्रोतका अनुसार कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना तय गरिएको छ । कृषि मन्त्रालयका अनुसार करिब ३ अर्ब रुपैयाँ बराबरका योजना मन्त्रालयमार्फत बजेटमा समावेश गरिएको छ ।
यस्तै, शनिबार मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दोस्रो पटक थप गरिएको थियो । यसअघि वैशाख ४ गते ५५ अर्बको बजेट सिलिङ मन्त्रालयहरुलाई दिइएको थियो । दुई पटकको समायोजनपछि सिलिङको कुल आकार ६२ अर्ब हाराहारीमा पुगेको छ । जसका कारण बजेटको आकार बढेर ६८ अर्ब हाराहारीको हुने बताईएको छ ।
संविधान अनुसार प्रदेश सरकारले हरेक वर्ष जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जस अनुसार संघीय सरकारले जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ भने प्रदेश सरकारहरुले आज र स्थानीय तहले असार १० भित्र बजेट ल्याउने छन् ।