मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी चैतको दोस्रो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने जनाएको छ । गत असोज पहिलो साताबाट बन्द भएको सिमेन्ट उत्पादन पुन सुरु गर्ने तयारी भएको उद्योग व्यवस्थापनले जनाएको हो ।
यसअघि उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरु मर्मत र आर्थिक अभावको समस्याका कारण उत्पादन सुरु हुन नसकेको हो । ‘‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ, चैत्र पहिलो सातासम्ममा विद्युतको व्यवस्थापन गरेर सम्भवत चैत्र दोस्रो साताबाट उत्पादन सुरु हुन्छ ।” उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भन्नुभयो ।
उद्योगका निमित्त महाप्रबन्धक नविन कुमार कर्णले पनि उद्योग संचालनमा आउने बताउनुभयो । “तीन महिनादेखि कर्मचारीले तलब खान पाएका छैनन्, साथै विहान बेलुकाको समयमा विद्युत काटिदाँ समस्या भएको छ । हामीले विद्युत ग्रीड माहाशाखा हेटौंडामा कुरा गरेका छौं, चैत्र पहिलो साताबाट विद्युत नियमित गर्ने कुरा छ । त्यसो भएमा हामी चैत दोस्रो साताबाटै उत्पादन सुरु गर्न सक्नेछौं ।” उहाँले भन्नुभयो । उद्योग संचालनका लागि उहाँले सबैलाई सहयोग गर्न विज्ञप्ती मार्फ अनुरोेध समेत गर्नुभएको छ ।
निमित्त महाप्रबन्ध कर्णले विज्ञप्ती मार्फत कामदार कर्मचारीहरुको तलब भत्तासमेत भुक्तानी हुन नसकिरहेको उधोगको वर्तमान जटिल अवस्थामा उत्पादन नै यस अवस्थाबाट उन्मुक्ति दिलाउने प्रमुख आम्दानीको स्रोत भएको बताउनुभएको छ । उहाँले सबैको साथ र सहयोगबाट उद्योगमा सकारात्मक परिर्वतन ल्याउन सकिने साथै उद्योगलाई जिवन्त राख्न सकिने भन्दै सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । उद्योग संचालनका लागि अहिले आवश्यक ढुंगा (क्लिङ्कर) समेत झर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
यस अघि पनि आर्थिक अभावका कारण उद्योग पटक पटक बन्द हुँदै आएको छ । उद्योग बन्द हुने अवस्थामा पुगेपछि स्थानीय संघर्ष समितिले उद्योग संचालनका लागि आन्दोलन समेत गरेका थिए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।











