काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुबीच साझा उम्मेदवार तयार गर्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली काँग्रेसका लागि ६, माओवादी केन्द्र र एकिकृत समाजवादीलाई ५/५, जनता समाजवादीलाई २ र जनमोर्चालाई १ सिट दिने निर्णय भएको जानकारी दिनुभयो ।
आगामी माघ १२ गते १९ सिटका लागि सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुने तय भएपछि गठबन्धन दलहरुबीच सहकार्य गरी निर्वाचनमा जाने सहमति भएको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।