बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका विषयमा जनतासँग सघन रूपले संवाद गरिने बताउनुभएको छ । बिहीबार बैतडीको गोठालापानीमा आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गतको विशाल जनसभालाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई गर्ने यात्रा सुरु भएको बताउनुभयो ।
उहाँले सङ्कल्प यात्राका क्रममा आएका जनताका सुझावहरूको आधारमा पार्टीको भावी रणनीति तय गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने, स्थानियस्तरमै रोजगारीका सम्भावनाहरूको खोजी गरी बेरोजगारीको अन्त्य गर्ने, सामाजिक विकृति विसङ्गतिहरू हटाउने, स्थानियस्तरका सबै समस्याहरू हल गरि संवृद्ध नेपाल सुखी नेपालीले लक्ष्य पुरा गर्ने बताउनुभयो ।
उहाँले आफू प्रधानमन्त्री बन्दा देशका विभिन्न समस्याहरू हल गरेको दाबी गर्नुभयो । पुल, सडक, रेल, भूकम्प पछिको पुर्ननिर्माण लगायतका कयौँ काम गरेको बताउनुभयो । एमालेले सरकार छाडेपछि देश ओरालो लागेको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘राजनीति अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो, युवाहरू बिदेसिने क्रम बढ्यो, म प्रधानमन्त्री हुँदा १८प्रतिशतले घटेको युवा बिदेसिने क्रम अहिले बढेको छ ।’
उहाँले भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिकलाई महाकाली नदीमा खसाल्दा पनि गठबन्धन सरकार बोल्न नसकेको बताउनुभयो । ‘तुइन काटेर आफ्नो नागरिक मारिँदा सरकार बोल्न सकेन, बोल्दैन, यसलाई तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएकोमा पिर छ, बाटाघाटा बनाएकोमा पिर छ’, ओलीले भन्नुभयो । ओलीले अहिले देशको विकास ठप्प भएको बताउनुभयो । कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
ओलीले राजतन्त्र फर्काउने कसरतका विषयमा कटाक्ष गर्नुभएको छ । उहाँले भन्नुभयो,“देशलाई प्रतिगमन तर्फ फर्काउने, जनतालाई जन्मजात रैति बनाउने, प्राप्त उपलब्धिहरूको सखाप पार्ने कुरा असम्भव हो ।” उहाँले पहिचानको राजनीतिका नाममा अरूलाई घृणा, निषेध र आक्रमण गर्ने कुरा स्वीकार्य नभएको बताउनुभयो ।
देशमा भ्रष्टाचार, अनियमितता, सुन तस्करी लगायतका घटनाहरूको मौका छोपी केही प्रतिक्रियावादीले टाउको उठाउने प्रयास गरेको ओलीको भनाई छ । ‘हामी पछाडि फर्कन सक्दैनौँ, फेरी रैति बन्न सक्दैनौँ’, ओलीले भन्नुभयो । ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशलाई अराजकतातर्फ जानबाट एमालेले रोक्छ । अराजकता र अस्थिरतालाई रोक्दै देश अब सम्वृद्धिको बाटोमा अघि बढेको छ, त्यसको सुरुवात एमालेले बैतडीको झुलाघाटबाट पूर्वको पाँचथर चिवा भञ्ज्याङ्गको सङ्कल्प यात्राले तय गरेको छ ।”
उहाँले भन्नुभयो, “मध्यपहाडी भूभागको यात्राका क्रममा युवाहरूलाई स्वदेशमै टिकाउन, उच्चस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषयमा जनतासँग सघन संवाद गर्छौ ।”
अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताउनुभयो । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ पुगेर पुस १ गते झण्डोत्तोलन गरी समापन हुने उहाँले बताउनुभयो ।











