हेटौडा । मकवानपुरगढी गाउँपालिकामा एक हजार ७३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइने भएको छ । सोमबार गाउँपालिका स्तरीय अभिमुखीकरण तथा बहस पैरवी कार्यक्रम गर्दै आगामी फेब्रुअरी ४ अर्थात माघ २२ गतेदेखी २५ गतेसम्म खोप लगाउने स्वास्थ्य शाखा प्रमुख धुव्रप्रसाद लामिछानेले बताउनुभयो ।

पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षमा भएको अभिमुखीकरणमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडामा रहेका स्वास्थ्य चौकी ईन्चार्ज, युवा क्लव, आमा समूह, विद्यालयका प्रअ, सञ्चारकर्मीहरुको सहभागितामा खोप कार्यक्रमबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक सरदर ४ जनाको मृत्यु भइरहेको बताउँदै प्रमुख लामिछाने मकवानपुरगढी गाउँपालिकामा भने २०७८ यता ४ जनाको मृत्यु भएको तथा १५ जना क्यान्सरका विरामी रहेको बताउनुभयो ।
यो खोप ९८-१०० प्रतिशत प्रभावकारी रहेको बताउँदै सरकारको अभियान अन्तरगत विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाईने प्रमुख लामिछानेले बताउनुभयो । पालिकामा एक हजार ७३ जना  लक्षित समूह रहेकोमा विद्यालयका एक हजार १२ र विद्यालय बाहिरका ६१ जना किशोरी रहेको उहाँले बताउनु भयो । पालिकाभित्रका १७ विद्यालय र ८ वटै स्वास्थ्य चौकीबाट खोप सेवा प्रदान गरिने बताउनुहुदै विद्यालय नर्स र शिक्षिकालाई स्वंमसेवकको रुपमा खटाइने साथै ४० जना महिला सामूदायिक स्वास्थ्य स्वंमसेविकालाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।