मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सामाजिक सुरक्षा योजना संचालन सम्बन्धी सम्झौता भएको छ । औपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने सन्दर्भमा दुई पक्षबीच मंगलबार सम्झौता भएको हो ।

गाउँपालिकामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुका लागि सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने सन्दर्भमा मंगलबार गाउँपालिकाका तर्फबाट अध्यक्ष हिदम लामा र सामाजिक सुरक्षा कोषका तर्फबाट निर्देशक कृष्ण प्रसाद ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिक तथा स्वरोजगार व्यक्तिहरु कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी दुई पक्षबीच सम्झौता सम्पन्न भएको हो ।भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्विकृत कार्यक्रम अन्तरगत अनौपचारीक तथा स्वरोजगार श्रमिकको भबिष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी कार्यक्रम कार्यान्वयन गर्न लागिएकाे अध्यक्ष लामाले बताउनुभयाे । उहाँले चालु आर्थिक वर्षमा याे कार्यक्रममा एक सयजना श्रमिकलाई समेट्ने लक्ष्य रहेको समेत बताउनुभयाे ।

सम्झौता बमोजिम गाउँपालिका मार्फत आबद्ध श्रमिकको तर्फबाट कोषमा जम्मा गर्नुपर्ने योगदान बापतको रकम सम्बन्धीत श्रमिकबाट कट्टा गरिने र स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको हकमा सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ बमोजिम हकमा प्रति श्रमिक नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरि मासिक वा आग्रीम अर्धवार्षिक÷ वार्षिक रुपमा कोषको खातामा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले बताउनुभयो ।


अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कोष र पालिका बीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास लिएको कोषका उप कार्यकारी निर्देशक विवेक पन्थीले बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिकसम्म पु¥याउनु पर्ने बताउनुभयो । सामाजिक सुरक्षा योजना संचालन कार्यविधिले कोषमा नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ ।











