हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ । सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित कानुनको अन्तरक्रिया कार्यक्रमलाई बुधबार हेटौँडामा सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्नसके मात्रै देशमा समृद्धि आउने र सुशासन कायम गर्न सबै क्षेत्रको भूमिका रहनु पर्ने बताउनुभयो ।
उहाँले सुशासन कायम गर्ने र सेवा प्रवाहका सवालमा तीनै तहका सरकार बढी जिम्मेवार भएर लाग्नु पर्ने बताउनुहुँदै यसमा राजनीतिज्ञ, कर्मचारी, पत्रकारलगायत सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारका माध्यमबाट नै सरकारका सेवा प्रवाहका कुरा जनतासमु पु¥याउन सकिने हुँदा पत्रकारहरूलाई थप जिम्मेवार ढंगबाट प्रस्तुत भइदिन आग्रह गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता र लोकतन्त्र एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै एक–अर्काका परिपूरकका रूपमा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सशक्त र जिम्मेवार सञ्चार क्षेत्रले लोकतन्त्रलाई संस्थागत र जनउत्तरदायी बनाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो । पछिल्लो समय मिसन पत्रकारिताका नाममा सामान्य मूल्य, मान्यता र पत्रकारिताको आचारसंहितासमेतमा ध्यान पुग्न नसकेको भन्दै मन्त्री श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । पत्रकारहरूले राजनीतिक दल, कुनै संघसंस्था, व्यक्ति, व्यावसायिक घराना वा अन्य कुनै दबाब समूहको प्रभावमा परेर काम गर्नु नहुने भन्दै उहाँले प्रदेश संस्थागत विकासको चरणमा रहेकाले यसमा पत्रकार र पत्रकारिता क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मन्त्रालयका कानून महाशाखा प्रमुख मनुका घिमिरे र पत्रकार सुरेश श्रेष्ठले सहजिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा मन्त्रालयका विभिन्न शाखाका कर्मचारीलगायत मकवानपुरका क्रियाशिल पत्रकारहरूकाे सहभागिता थियाे ।