मकवानपुर । हेटौंडामा डेङ्गु संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेङ्गु संक्रमणका कारण मृत्यु भएको हो ।
हेटौँडास्थित सन्चो अस्पतालमा ३ दिन अघि परीक्षण गराउँदा डेङ्गु संक्रमण पुष्टि भएको थियो । डेङ्गु संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार पुन अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहिबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेङ्गु संक्रमण पुष्टि भएको थियो ।
मकवानपुर जिल्लामा साउन १ गतेयता ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस अवधिमा हेटौँडा उपमहानगरपालिका भित्र ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका भित्र साउन महिनामा २८ जना पुरुष र २६ जना महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार संक्रमण पुष्टि हुने १२ जना नै हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । यस्तै, हेटौँडा अस्पतालमा बिहिबार २७ जनाले डेंगु जाँच गराएका मध्ये ४ जनामा डेंगु देखिएको छ ।