मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाण्डौ जोड्ने दुवै सडकमार्ग पुन अबरुद्ध भएको छ । गएरातीबाट परेको पानीका कारण पहिरो जाँदा अबरुद्ध भैसे–भीमफेदी सडक मंगलबार बिहान एकतर्फि सूचारु भएकोमा अहिले पुन अबरुद्ध भएको हो ।
हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्ड बिहान एकतर्फि रुपमा सुचारु भएकोमा अहिले पुन अबरुद्ध भएको प्रहरीले जनाएको छ । सोमबार राति भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको थियो । समान्य पहिरो हटाएर एकतर्फी संचालनमा ल्याइएको सडकखण्डमा अहिले फेरी पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिनुभयो । पानी पर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको यद्यपी डोजर स्टयाण्ड बाइ रहेकोले पानी पर्न रोकिएसंगै पहिरो हटाउने रिजालले बताउनुभयो ।
यता सोमवार रातिबाट अवरुद्ध बनेको कान्तिलोकपथ अझै संचालनमा आएको छैन् । बकैया गाउँपालिका–११ लामराङमा पहिरो खसेको छ । सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको प्रहरीले जनाएको छ । लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ ।











