मकवानपुर । पहिरोका कारण अबरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाण्डौ जोड्ने दुई सडक मार्ग मध्ये एउटा सुचारु भएको छ । गएरातिदेखि अबरुद्ध बनेको मदन भण्डारीमार्ग अन्तरगत हेटौँडा–कुलेखानी–काठमाण्डौ सडक खण्ड एकतर्फि रुपमा सुचारु भएको हो ।
मदन भण्डारी मार्ग अन्तरगत हेटौँडा–भैँसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डको मकवानपुरको भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो जाँदा गएराती देखि अबरुद्ध सडक आज बिहानबाट एकतर्फि रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।
यता कान्ति लोकपथ सडक खण्ड भने गएरातीदेखि अबरुद्ध रहेको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ लामराङमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको र अहिले पनि खुलाउन नसकिएको कार्कीले जानकारी दिनुभयो । सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको तर, लगातार पानी परिरहेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।