हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षत्रेमा २५ मिटर सडक विस्तारको विषयमा हेटौैँडाका व्यवसायीले शुक्रबार मकवानपुरका राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । हेटौंडाका व्यवसायीहरुको संघहरुले शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुखहरुलाई भेटेर संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले सडक बिस्तारका विषयमा ३५ दिने सुचना प्रकाशन गरेसँगै हेटौंडा बजार क्षेत्रको प्रभावित व्यवसायीहरुले ध्यानाकर्षण जनाएका हुन । ध्यानाकर्षण पत्रमा प्रभावित व्यवसायी पाँच हजार जना, व्यवसायीहरुको अनुमानित १५ अर्ब लगानी क्षति, आश्रित मानिसहरु २५ हजार, १५ हजार जनाको स्वरोजगार वा रोजगारी गुम्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ ।
उनिहरूले सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने र वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्नेलगायतकाे उल्लेख गरेका छन । व्यवसायिले आफुहरु विकास विरोधी नभएको र सम्बन्धित निकायले व्यवसायीको हितको काम गर्नुपर्ने मागसहित नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भरत पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सागर थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । संयुक्त व्यवसायी संघले विहीबार सडक डिभिजन कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएकाे थियाे ।