देशका पहाडी केही क्षेत्रमा आज पनि हल्का वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
आज दिउँसो पनि कोशी प्रदेशसहित पहाडी थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिम तराईका केही तथा पहाडी थोरै ठाउँ र काठमाण्डौ उपत्यकामा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकामा हल्का वर्षासहित हावाहुरी चलेको थियो । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान केहीबेर प्रभावित भएको थियो । आज बिहान काठमाण्डौको मौसम सफा छ । हावाहुरी र हल्का वर्षाले प्रदूषण पनि केही कम भएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी ६ किलोमिटर रहेको छ । प्रि–मनसुनमा हावाहुरी, मेघगर्जन र चट्याङको जोखिम हुने गर्छ । आज राति पनि कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।











