मन्त्रालयको टुङ्गो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेताहरूको सहभागिता छ ।
बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी भएसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रालय भागबन्डाको लगभग टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । ​
दलहरूले मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ। बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद् विस्तार र शपथ आजै हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। दलहरूले आ-आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम आजै दिँदै छन्।
बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजवादी २र२, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १र१ मन्त्रालय लिने सहमति भएको छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।​ कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने समझदारी भएको छ। गृह मन्त्रालय माओवादीले आफैँसँग राख्न चाहेपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति भएको हो।
प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन्।