काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले फेरि विश्वासको मत लिन लाग्नु भएकाे हाे ।
विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले आजको लागि जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्ने उल्लेख छ । उक्त प्रस्तावमाथि छलफल पश्चात निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । त्यसअघि आइतबारै बसेको कार्यसम्पादन समिति बैठकको निर्णय कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको हो । यस्तै गठबन्धन दलका एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि दाहाललाई विश्वासको मत दिने निर्णय गरेका छन् । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबारको संसद बैठकपछि बाहिरिने क्रममा आफूले शतप्रतिशत विश्वासको मत पाउने प्रतिक्रिया दिनु भएकाे छ । पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस आइतबारदेखि सत्तापक्षको बेञ्चमा बसेको छ । राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १३ र नेकपा एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए ।
समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले आज पुनः विश्वासको मत लिन लाग्नु भएकाे हाे । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीसहित १० दलले समर्थन गरेका छन् । एमाले, राप्रपा र नेमकिपा विपक्षमा हुनेछन् । यसअघि पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये २६८ मत प्राप्त गर्नु भएकाे थियाे ।











