हेटौंडाः बागमती प्रदेशका मकवानपुरबाट निर्वाचित सांसदहरुले हात्तीको आतंक रोक्न सरकालाई आग्रह गरेका छन् । शनिबार प्रदेश सभा बैठकमा मकवानपुरको मनहरी, हेटौंडा र बकैयामा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै सांसहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्र मनहरी गाउँपालिका ४ का राधा अधिकारीको फागुन ८ मा हात्तिको आक्रमण बाट मृत्यु भएको, त्यसैगरी बकैया गाउँपालिका ५ का सन्तलाल माझीको ११ फागुनमा मृत्यु भएको र सिन्धुली कमलामाईमा पनि एक जनाको ज्यान गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।
नेकपा (एमाले) का सांसद भारती पाठकले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भइरहेको बताइन् । ‘घटना किन भइरहेका छन् भन्ने विषयमा प्रदेश सरकार गम्भीर हुन आवश्यक छ,’ उनले भनिन। उनले जंगलभित्र रहेर निकुञ्ज र आरक्षभित्र भएका वनस्रोत मान्छेको जीवनसँग जोड्न कुनै पनि व्यवस्था नगरेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरिन ।
त्यसैगरी माओवादी सांसद प्रेमबहादुर पुलामीले पनि वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न सरकारलाई आग्रह गरे । पुलामीले वन्यजन्तुहरुको व्यवस्थान नै अस्तव्यस्थ हुँदा जंगली जनावरले आंतक मच्चाइरहेको भन्दै समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराए । मकवानपुरमा ८ दिनको अवधिमा हात्तीको आक्रमणमा दुई जनाले ज्यान गुमाएका छन भने एक जना घाइते भएका छन् । पहिलोपोस्टबाट











