काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दिउँसो नयाँ बानेश्वरमा रहेकाे निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पौडेलको उम्मेदवारी दर्ताकाक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।