काठमाडौँ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाउनु भएको हो । शनिबार बिहान बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।