सातदलीय गठबन्धनबाट माओवादी मात्र बाहिरिएर एकीकृत समाजवादी थपिए मुस्किलले बहुमत तर बदर र ‘क्रस’ मतको दबाब

काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन नजिकिएसँगै सत्ता गठबन्धनमा खटपट बढेको छ । कस्तो गठबन्धनबाट को उम्मेदवार हुने भन्ने निश्चित नभइरहेका बेला कुन परिस्थितिमा कसले राष्ट्रपति चुनाव जित्न सक्छ भन्ने आकलन पनि भइरहेको छ ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७३, राष्ट्रिय सभाका ५९ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८२ सांसद मतदाता छन् । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेकामा चितवन–२ रिक्त छ, मनाङका निलम्बित कांग्रेस सांसद टेकबहादुर गुरुङले चुनावमा भाग लिन पाउँदैनन् । चुनावअघि नै प्रतिनिधिसभा नियमावली पारित भए एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नेछन् । मतभार संघीय सांसद १ जनाको ७९ र प्रदेश सांसदको ४८ हुन्छ ।
कांग्रेसको १६ हजार १ सय ४२, एमालेको १५ हजार ३ सय १२ (स्वतन्त्र १ सहित) र माओवादीको ७ हजार ७ सय ४५ मतभार छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १, राप्रपाको २ हजार ४ सय ५०, जनता समाजवादी पार्टीको २ हजार १ सय ४५, एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार छ । जनमत पार्टीको १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय ९२, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, संघीय समाजवादीको ४८, हाम्रो नेपालीको ९६, स्वतन्त्र सांसदको ८ सय ४४ र राष्ट्रिय सभामा मनोनीत सांसदको २ सय ३७ मतभार छ ।
राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ । कांग्रेस र माओवादी मात्रै मिल्दा मतभार २३ हजार ८ सय ८७ मात्रै हुन्छ, जुन बहुमतका लागि २ हजार ४ सय २७ ले अपुग हो । कांग्रेस उम्मेदवारलाई जनमोर्चा, नेमकिपा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल संघीय समाजवादी, हाम्रो नेपाली पार्टीले पनि मत दिए ५ सय ७३ मतभार थपिन्छ । मतभार ९ सय ७१ रहेको लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै भेटवार्ता अघि बढाएको छ ।
अहिलेको सातदलीय गठबन्धन एकढिक्का रह्यो भने मतभार ३१ हजार ४ सय ४५ हुन्छ । यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका १ र एमाले प्रवेश गरेका १ स्वतन्त्र सांसदको समेत मतभार हो । सत्ता गठबन्धन कायमै रह्यो भने उसले खडा गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । तर, माओवादी अलग्गिएर कांग्रेससँग समीकरण बनाउँदा गठबन्धनका बाँकी दलको मतभार २३ हजार ७ सय हुन्छ । त्यस्तो अवस्थामा प्रतिनिधिसभाका दुई स्वतन्त्र सांसदले एमालेसहितको गठबन्धनलाई सघाउने देखिँदैन । राष्ट्रिय सभाका राष्ट्रपतिबाट मनोनीत तीन सांसदमध्ये एक जनाले एमालेलाई सघाउने निश्चित छ ।
एमालेसहितको गठबन्धनमा एकीकृत समाजवादी थपिँदा मतभार २६ हजार २ सय ७४ पुग्छ । यो मतभार राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले समेत मत हाल्दाको अवस्थामा हो । त्यति गर्दा पनि राष्ट्रपति निर्वाचित गराउन ४१ मतभार पुग्दैन । राष्ट्रिय सभाका एक स्वतन्त्र सांसद (खिमलाल देवकोटा) ले मत दिए मतभार ७९ थपिन्छ । प्रदेशसभामा थप ११ स्वतन्त्र सांसद छन्, उनीहरूको मत जता पनि जान सक्छ । निर्वाचनमा मत बदर र ‘क्रस’ को जोखिम पनि रहन्छ । एमालेले अघि सार्ने उम्मेदवारलाई जसपा र नागरिक उन्मुक्ति पार्टीले सहयोग गर्ने सुनिश्चित पनि भइसकेको छैन । #इकान्तिपुरबाट साभार